कसले बुझ्ने ? कहिले बुझ्ने ?
किन गर्छौ यस्तो व्यवहार
सबै बुहारी हुँदैनन् खराब
बुहारी पनि त छोरी जस्तै हो
किन बुझ्दैन कुरा घरपरिवार
छाडी आकि छ जन्मघर उसले
बुहारी पनि छोरी हो कसैको
हरसम्म प्रयास गर्छिन् आफूले
पराई घरलाई आफ्नो बनाउन जसले
थाहा छैन किन गर्छन् अपहेलना
उसको पनि मन दुख्छ बेलाबखतमा
ऊ पनि त एउटा मानव हो
किन नबुझेको होला उसको वेदना
होइन ठग ऊ होइन चोर पनि
अरूको जस्तै उसको पनि हो शरीर
हाड, मासु र रगतले बनेको
ढुङ्गामाटोले होइन, होइन मेसिन पनि
अरूसँग छ सधैं हाँसी मिठो बोली
थाहा छैन किन हो बुहारीसँग
जहिले गर्छौ झर्किफर्कि र टर्रो बोली
थाहा छैन त्यो दिन आउँछ कहिले
बिस्तारै सबै ठिक होला भनी
कर्तव्य आफ्नो गरेकै हुन्छिन् सधैं
वर्षौँ बित्दा पनि व्यवहार जस्तो थियो पहिले
समयको अन्तरालमा पनि
व्यवहार उस्तै छ अहिले!!!
रेखा श्रेष्ठ
गैँडाकोट-२, नवलपुर
श्रेष्ठ विगत साढे २ दशकबढी शिक्षण पेशामा आवद्ध हुनुहुन्छ । अहिले श्रेष्ठ गैँडाकोट ईंग्लीस स्कूलमा आवद्ध रहनुभएको छ । श्रेष्ठले फुटकर कविता सिर्जना तथा प्रकाशन गर्दै आउनुभएको छ ।