शिक्षा ऐनको मस्यौदा मंसीर मसान्तसम्म संसदमा आउँछ : माननीय राजन गौतम
नवलपुर, १० कात्तिक । शिक्षा ऐनको मस्यौदा मंसीर मसान्तसम्म संसदमा आउने प्रतिनधि सभाका संसद् एवं शिक्षा समिति सदस्य माननीय राजन गौतमले बताउनुभएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन नगर कमिटी गैँडाकोटको आयोजनामा शिक्षा ऐनको सम्बन्धमा आयोजित एक बृहत् अन्तरक्रिया तथा छलफल कार्यक्रममा सो कुरा बताउनुभएको हो ।
मुकुन्दसेन इङ्गलिस बोर्डिङ स्कूलको सभाहलमा भएको सो कार्यक्रममा सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, नेपाल शिक्षक संगठन, नेपाल शिक्षक संघ, राहत शिक्षक समिति, विभिन्न विषयगत समितिका संयोजक तथा प्रतिनिधि एवं शिक्षकहरुको सहभागीता रहेको थियो । कार्यक्रममा शिक्षा ऐनमा समेट्नु पर्ने विषयवस्तुका विषयमा व्यापक छलफल भएको थियो । शिक्षा क्षेत्रमा सुधार गर्नुका साथै शैक्षिक गुणस्तरमा सुधार गर्नुपर्ने विषयहरु शिक्षा ऐनमा समेट्नका लागि शिक्षकहरुले माननीय गौतमलाई सुझाब पेश गरेका थिए । विभिन्न समयमा भएका आन्दोलनमा भएका सम्झौतालाई अध्ययन गरी ऐनमा समावेशका पहलका लागि शिक्षक संघ संगठन प्रतिनिधिहरुको माग गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि माननीय गौतमले शिक्षक तथा शिक्षा क्षेत्रका सरोकारवालाहरूले उठाएका जायज माग, गुनासा र सुझावहरूलाई शिक्षा ऐनमा जस्ताको तस्तै समावेश गराउन र सम्बोधन गर्न आफ्नो तर्फबाट प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका गण्डकी प्रदेश उपाध्यक्ष बलराम रानाभाट, नेपाल शिक्षक संघका गण्डकी प्रदेशका उपाध्यक्ष बिष्णु रिजाल, शिक्षा समिति सदस्य एवं गैंडाकोट इङ्गलिस स्कूलका प्रधानाध्यापक हिरालाल अर्याल, समाजसेवी बोधराज लम्साल, जनक नमुना मा.विका प्रधानाध्यापक बुद्धिसागर पण्डित,अमरज्योती मा.विका प्रधानाध्यापक दुर्गादत्त सापकोटा, रत्नराज्य मा.विका प्रधानाध्यापक नवराज काफ्ले, जनता माविका प्रधानाध्यापक पदमबहादुर खड्का, मुकुन्दसेन इङ्गलिस बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पाैडेल, राहत शिक्षक समिति गैंडाकोट नगर अध्यक्ष मुक्तिराज अधिकारी, कर्मचारीको प्रतिनिधि ईश्वरी सापकोटा, शिक्षक मोहन भण्डारी, मनोज विक्रम विष्ट लगायतले सुझाब प्रस्तुत गर्नुभएको थियो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन नगर कमिटी गैँडाकोटका अध्यक्ष रोशन मल्लको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य नेपाल शिक्षक महासंघ नवलपुरका उपाध्यक्ष हिमालदेब पंगेनीले गर्नुभएको थियो भने कार्यक्रमको औचित्यमाथि सभा अध्यक्ष रोशन मल्लले प्रकाश पार्नुभएको थियो। कार्यक्रमको सहजीकरण नेपाल राष्ट्रिय शिक्षक संगठन गैंडाकोटका उपाध्यक्ष गोविन्द उपाध्यायले गर्नुभएको थियो।