शिक्षा समितिको सभापतिमा डा. ओजस्वी शेरचनलाई तय गर्ने रास्वपाकाे निर्णय

२०८३ बैशाख ३ बिहीबार १६:१०:०० मा प्रकाशित

काठमाडौ - संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा डा. ओजस्वी शेरचनलाई उम्मेदवार बनाउने रास्वपाले निर्णय गरेकाे छ । विभिन्न संसदीय समितिहरुका सभापतिहरुको बारेमा निर्णय गर्न विहिबार बसेको सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को  संसदीय दलको बैठकले सभापतिहरुको उम्मेदवार बारेमा  निर्णय गरेकाे हाे ।

जेनजी विद्राेह पछि   भएको निर्वाचन पश्चात बनेको संसदमा झण्डै दुई तिहाई मत सहित पहिलो दल बनेको रास्वपाको उम्मेद्वार वा उसले समर्थन गरेको उम्मेद्वार  नै स्वत: विजयी हुने  निश्चित भएका  कारण शेरचन  शिक्षा समितिकाे सभापतिमा विजय हुने निश्चिचत रहेकाे छ । २७ सांसद सहितको शिक्षा समिति गठन हुनेछ । अधुराे अवस्थामा रहेकाे  शिक्षा विधेयकलाई पूर्णता दिनुका साथै स्वास्थ्यका विषयमा महत्वपूर्ण निर्णय गर्नु पर्ने कारण पनि शिक्षा समितिलाई महत्वपूर्ण मिनि संसदकाे रुपमा हेरिएकाे छ ।

शिक्षाको विषयलाई समेत हेर्ने गरी संसदमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति रहेको छ । सरकारको कामको मूल्याङ्कन तथा विभिन्न विधेयकहरूमा छलफल गरी  टुङ्गो लगाउने जिम्मेवारी समितिलाई हुन्छ । उक्त समितिमा २७ सदस्य रहेका छन् । 

 संसदीय समितिहरुको निर्वाचन शुक्रबार हुँदैछ । विभिन्न संसदीय समितिका लागि रास्वपाले तय गरेका उम्मेद्वार यस प्रकार छन् :

१्. कानुन, न्याय तथा मानवअधिकार समिति– समीक्षा बास्कोटा

२. कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति– अशोककुमार चौधरी

३. पूर्वाधार विकास समिति– आशिष गजुरेल

४. महिला तथा सामाजिक मामिला समिति– आकृति अवस्थी

५. राज्य व्यवस्था तथा सुशासन समिति– हरि ढकाल

६. संसदीय सुनुवाइ– बोधनारायण श्रेष्ठ

७. राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन– गणेश कार्की

८. अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति– सुम्नीमा उदास

९. अर्थ समिति– कृष्णहरि बुढाथोकी

१०. उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति– रहवर अन्सारी

११. सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई दिएको छ । उक्त पदमा कांग्रेसले डोटीबाट निर्वाचित सांसद  भरतबहादुर खड्कालाई उम्मेद्वार बनाएको छ ।