अधिवक्ता रमेश काफ्लेद्वारा लिखित समृद्धिका पाइलाहरु लेख सङ्ग्रहको लोकार्पण

२०८२ भदौ २१ शनिबार १३:२०:०० मा प्रकाशित

गैँडाकोट,२१ भाद्र । अधिवक्ता रमेश काफ्लेद्वारा लिखित समृद्धिका पाइलाहरु नामक लेख सङ्ग्रहको लोकार्पण शनिवार गैँडाकोटमा गरिएको छ । लाेकापर्ण कार्यक्रम त्रिवेणी साहित्य प्रतिष्ठान र राेटरी क्लब अफ गैँडाकाेटले स‌ंयुक्त रूपमा आयाेजना गरेका हुन् ।  सो लेख सङ्ग्रहको लोकार्पण गैँडाकोटको द होटल नारायणीमा साहित्यकार, प्राध्यापक, अधिवक्ता, समाजशास्त्री एवं समाजसेवीहरुको समुपस्थितिमा गरिएको थियो । 
कार्यक्रमका प्रमुख अतिथि त्रिवेणी साहित्य प्रतिष्ठानका प्रमुख संरक्षक एवं गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानका कुलपति गोविन्दराज विनोदीले पुस्तकको लोकार्पण गर्दै पुस्तकले नेपाली समाज कसरी समृद्ध हुन सक्छ, नागरिकको हक अधिकार कसरी सुनिश्चित गर्न सकिन्छ, आपसी प्रेम सद्भाव र सहिष्णुताको भावना कसरी विकास गर्न सकिन्न भन्ने भावका लेखहरु पुस्तकमा समावेश भएको बताउनुभयो । साथै उहाँले नेपाली राजनितिज्ञ, खोज अन्वेषणमा रुचि राख्ने विद्यार्थीहरु , समाजशास्त्री र कानुनी ज्ञाताका लागि उपयोगी पुस्तक रहेको बताउनुभयो । 
कालिका संस्कृत विद्यापीठका प्रमुख डा. केशव चालिसेले समृद्धिका पाइलाहरु लेख सङ्ग्रहले समाजशास्त्रका मान्यता, कानुनी राज्यको विकासक्रम र नेपालमा कानुनी प्रावधानको अवस्थाका बारेमा चिन्तन गरिएको कुरा व्यक्त गर्नुभयो । 
भूमि सुधार, बदलिँदो नेपाली समाजमा रहेको सम्बन्ध विच्छेदका घटना, सम्पत्ती सुद्धिकरण र नागरिकलाई कानुनी शिक्षा दिनुपर्छ , हाम्रो समाजमा किन आत्महत्या किन बढेको छ ?,पर्यटन र आर्थिक विकासका निम्ति युवा नेतृत्व, दिगो विकास, सामाजिकीकरण, मुलुकी ऐन १९१० लगायतका विषयवस्तु माथि पुस्तकमा समेटिएका लेखहरु मार्फत रमेश काफ्लेले विश्लेषण र चिरफार गर्ने प्रयास गर्नुभएको पुस्तकका समिक्षकहरु बरिष्ठ अधिवक्ता भुपेन्द्रजंग  पौडेल क्षेत्री, बरिष्ठ अधिवक्ता जगन्नाथ भण्डारी, अधिवक्ता सरिता तिवारीले समिक्षा गर्नुभएको थियो ।
समृद्धिका पाइलाहरु नामक लेख सङ्ग्रहमा ३२ वटा लेखहरु सङ्ग्रह गरिएको छ । लेखहरुमा समाजशास्त्रका विषयहरु, नेपालको कानुनी व्यवस्था र सो सम्बन्धि अभ्यासहरु, अन्य पुस्तकहरुको समिक्षा समाजशास्त्रीय अवधारणाका आधारमा गरिएको पाइन्छ । वर्तमान नेपाली समाजमा युवाहरुमा निराशाको बादल मडारीरहेको छ । नेपाली युवाहरुलाई कसरी देशमा नै आशाका किरणहरुको उजागर गर्न सकिन्छ भन्ने विषयलाई सङ्ग्रहमा समावेश लेखले समेटेको पाइन्छ । त्यसैगरी हिन्दुधर्म दर्शन,बुझाइ र आधुनिक समाजमा यसको सान्दर्भिकताका बारेमा पुस्तकमा चिन्तन गरिएको छ ।
अधिवक्ता काफ्लेद्वारा लेखिएको लेख संग्रह समाजशास्त्रका विद्यार्थी , कानुनीका विद्यार्थीका साथै समग्र नागरिकका लागि उपयुक्त पुस्तक रहेको कुरा लोकार्पणमा शुभकामना मन्तव्य दिने वक्ता एवं समिक्षकहरुले व्यक्त गर्नुभएको थियो । 
कार्यक्रममा विरेन्द्र बहुमुखी क्याम्पस प्रमुख प्रेमसागर भण्डारी, नेपाल बार एसोसियसनका केन्द्रिय सदस्य बरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ, रोटरी क्लब अफ गैँडाकोटका पूर्व अध्यक्ष गोपेन्द्रकेशरी न्यौपानेले लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

 

कार्यक्रममा लेखक रमेश काफ्लेले पुस्तकका विषयवस्तु माथि प्रकाश पार्नुभएकाे थियो । स्वागत मन्तव्य राेटरी क्लब अफ गैँडाकाेटका अध्यक्ष हिरालाल अर्यालले गर्नुभएकाे थियाे । त्रिवेणी साहित्य प्रतिष्ठानका उपाध्यक्ष, गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति भिमप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न सो लोकार्पण कार्यक्रमको सञ्चालन भूमीश्वर शर्मा भावुकले गर्नुभएको थियो ।

सो पुस्तकको प्रकाशन त्रिवेणी साहित्य प्रतिष्ठान गैँडाकोटले गरेको हो । पुस्तकको संरक्षकमा कृष्णप्रसाद काफ्ले र हरिकला काफ्ले रहनुभएको छ । इन्द्रराज पौडेल र विष्णुमाया पन्थीले भाषा सम्पादन गर्नुभएको सो पुस्तकको प्रकाशन सहयोगी विना गौतम र आवरण तथा कम्प्युटर नविन श्रेष्ठको रहेको छ ।