खुसी कक्षाको प्रभाव : “छोराछोरीको व्यवहारमा परिवर्तन आयो”
नवलपरासी (वर्दघाट सुस्तापूर्व) । विद्यार्थीहरुबीचको प्रतिष्पर्धा र नतिजाका कारण के विद्यार्थीहरु साँच्चीकै खुसी हुन पाएका छन् त ? के विद्यार्थीहरुले जीवनको मूल्य, मानव सम्बन्धको मूल्य, प्रकृतिका वस्तुहरुको मूल्य र तीनको उपयोगिता अर्थपूर्ण तरिकाले बुझेका छन् त ? व्यवहारमा उतारेका छन् त ? यीनै पक्षलाई व्यवहारिक कार्यान्वयनमा ल्याउन नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकाले खुसी पाठ्यक्रम बनाएको छ । खुसी पाठ्यक्रम कार्यान्वयनमा आएको पनि एकवर्षभन्दा बढी भएको छ । एक शैक्षिक सत्रको अवधिमा खुसी कक्षा चलेपछि, यस पाठ्यक्रमका उद्देश्य अनुसार विद्यार्थीमा आत्मविश्वास त बढेको छ नै अभिभावकको अनुहारमा पनि खुसी प्रष्ट झल्केको छ ।
मध्यविन्दु नगरपालिकाका सबै जसो विद्यालयमा हरेक दिन पहिलो घण्टी खुसी कक्षा सञ्चालन हुन्छ । खुसी कक्षामा भेटिएका सबै विद्यार्थीको हातमा खुसी विषयको किताब भने हुँदैन तर अनुहारमा भने खुसी प्रष्ट देख्न सकिन्छ । उनिहरु ध्यानका क्रियाकलापबाट आफ्नो कक्षा सुरु गर्दछन् । यसलाई उनिहरुले माइण्डफूलनेस भनेर भन्ने गरेका छन् । यो प्रक्रिया ५ मिनेटसम्म चल्छ । त्यसपछि ध्यानपूर्वक कसरी सुन्ने, कसरी बोल्ने, कसरी हेर्ने, कसरी हिँड्ने, कसरी सजगता अपनाउने जस्ता गतिविधिमाथि चर्चा गर्दछन् । यो प्रक्रिया १५ मिनेटसम्म चल्छ । यसपछि शिक्षक विद्यार्थीबीच अनुभव आदानप्रदान गर्दछन् । यस कक्षामा विशेषगरि जीवन जिउने कला सिकाइन्छ । मानविय मूल्यको स्थापनाका लागि प्रेरणादायी कथाहरुपनि शिक्षकले सुनाउने गर्दछन् । खुसी कक्षा लिन थालेपछि जनतासिद्ध अमर माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्ने विद्यार्थी रितु श्रेष्ठको चिन्ता र तनाव हट्न थालेको छ । उहाँ भन्नुहुन्छ “खुसी कक्षामा मन शान्त हुन्छ, आनन्द हुन्छ, विहान देखि कुनै चिन्ता छ भने हटेर जान्छ, पढाइमा पनि धेरै ध्यान जाने गरेको छ । यहाँ सिकेका कुरा घरमा ममि बाबासँग पनि कुरा हुन्छ ।”
यसपछि हामी हर्दियामा रहेको जनता माध्यमिक विद्यालयमा पुग्यौँ । त्यहाँ चौरमा भेटिएका संस्कार भट्टराईले खुसी कक्षा लिन थालेपछि पढाइमा रुचि र ध्यान बढेको बताउनुभयो । खुसी कक्षाका बारे संस्कार भन्नुहुन्छ “खुसी कक्षामा हुने माइन्डफूलनेस मन पर्दछ, माइन्डफूलनेसले सोच र चिन्तनमा सहजता बनाएको छ, पढाइमा पनि रुचि र मन बढ्न थालेको छ ।”

खुसी कक्षा सञ्चालन भएपछि विद्यार्थी मात्र होइन, अभिभावक पनि उस्तै खुसी भेटिए । अभिभावक बसन्ती महत्तोलाई भेट्दा उहाँको अनुहारमा खुसी झल्कन्थ्यो, उहाँको छोरी कक्षा ५ मा पढ्छिन् । अहिले छोरीको दैनिकीमा आएको व्यवहारिक परिवर्तनले उहाँलाई धेरै सहज बनाएको छ । छोरीमा आएको परिवर्तन बसन्तीले यसरी सुनाउनुभयो “नानीले पहिला भनेको केही पनि मान्थेन, अहिले भनेको मान्छ, आफ्नो काम आफै गर्दछ, पहिला कपि किताब मिलाएर राख्दैनथ्यो, अहिले मिलाएर राख्छ, अहिले हामीले मागेको सहयोगमा पनि उसले सहयोग गर्दछ । खाना पनि पकाउन सिकेको छ । घर आँगन पनि बढार्छ, अहिले बजेट छैन भन्यो भने किनमिलेमा कर गर्दैन, मान्छ । पहिले भन्दा अहिले धेरै सुधार भएको छ ।”
अभिभावक सुजिता महतले आफ्नो छोरामा धेरै परिवर्तन आएको सुनाउनुभयो । समयमै गृहकार्य गर्ने, आफ्नो सरसफाईका काम आफै गर्ने, नियमित खाना खाने, अभिभावकलाई काममा सहयोग गर्ने गरेको अभिभावक महत्ले बताउनुभयो । उहाँ भन्नुहुन्छ “म त धेरै हेप्पी छु, धेरै चेन्ज आएको छ, बाबुमा । स्कुलमा पढेको कुरा सबै सुनाउन थालेको छ । घरमा जानेवित्तिकै खेल्थ्यो, अहिलो होमवर्क सकेर मात्र खेल्न जान्छ, नियमित खाना खान थालेको छ । घरमा सरसफाई गर्न थालेको छ । हामीलाई पनि सिकाउन थालेको छ । खुसी कक्षा लिन थालेपछि बाबु पनि खुसी छ, म पनि खुसी छु ।”

हिराकुमारी महत्तो आफ्नो नातिनीको व्यवहारबाट खुसी हुनुहुन्छ । अहिले हजुरामालाई आफूले जानेको कुरा नातिनेले नै सिकाउन थालेको महतोको भनाइ छ । उहाँ भन्नुहुन्छ “अहिले नातिनीले मोबाइल चलाउन छोडेको छ, मलाई पनि मोबाइल चलाउन हुँदैन भनेर भन्ने गर्छ ।”
शिक्षाको मूल उद्देश्य भनेको नै बालबालिकालाई असल बनाउनु, जिम्मेवार बनाउनु, असल बनाउनु र खुसी पूर्वक जीवन व्यतित गर्ने शैली सिकाउनु हो । बालबालिकाहरु खुसी नभएसम्म सिकाई प्रभावकारी नहुने हुँदा खुसी पाठ्यक्रमलाई विशेष प्राथमिकतामा राखिएको मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भीमलाल अधिकारीले बताउनुभयो । नगरप्रमुख अधिकारीले प्रभावकारीताका सन्दर्भमा हामीलाई भन्नुभयो “पाठ्यक्रमको उद्देश्य अनुसार बालबालिका खुसी भएर पढुन भन्ने हो, बालबालिकाहरुको छवि, असल संस्कार, चरित्र राम्रो र असल बनाउन यस पाठ्यक्रमले प्रेरित गर्दछ । कुनै पनि सामाजिक विषयवस्तुमा अन्वेषण गर्ने, अनुभव गर्ने र अभिव्यक्त गर्ने कलाको विकास गराउन खुसी पाठ्यक्रमले सहयोग गरिरहेको छ । भौतिक पूर्वाधार खुसी होइन, मानव मूल्यको अनुभूत हुनु, समाजमा घुलमिल हुनु, असल समाज निर्माणमा सक्रिय सहभागिता गराउनु, प्रकृतिसँग बालबालिकालाई जोड्न खुसी कक्षाले मद्दत गरिरहेको छ ।”
खुसी पाठ्यक्रम कार्यान्वयनका लागि नगरस्तरीय स्रोत शिक्षक, विद्यालयस्तरीय स्रोत शिक्षकहरुको व्यवस्था गरिएको कार्यक्रम संयोजक लक्ष्मी पाण्डेले बताउनुभयो । उहाँका अनुसार खुसी पाठ्यक्रमले बालकक्षादेखि आठकक्षासम्मका विद्यार्थीलाई विभिन्न विधिमार्फत खोज, अनुभव र खुसी व्यक्त गर्नका लागि भावनात्मक वातावरण सिर्जना गरेको छ । खुसी पाठ्यक्रम कार्यान्वयनका सन्दर्भमा नगरस्तरीय स्रोत शिक्षक कृष्णचन्द्र गिरिले रमाइला व्यायाम, भित्रबाहिर खेलिने खेल, सक्रिय सोधपुछ, कथाकथन, समूहमा छलफल, सम्बन्ध निर्माण र समूह कार्यका गतिविधिहरु जस्ता शिक्षण विधि मार्फत सिकाइ सहजीकरण गरिदै आएको बताउनुभयो ।
पाठ्यक्रम अध्ययन तथा अनुसन्धान केन्द्रका संयोजक हरिप्रसाद देवकोटाले पाठ्यक्रम कार्यान्वयनमा केही चुनौतीहरु देखिएपनि विद्यार्थीको समुज्ज्वल भविष्यका लागि खुसी पाठ्यक्रम सारथी हुने कुरामा कुनै द्विविधा नभएको बताउनुभयो । अरु विषयको पठनपाठनमा समेत यसको दुरगामी प्रभाव पर्ने गरि पाठ्यक्रमको संरचना निर्माण गरिएको हरिप्रसाद देवकोटाले बताउनुभयो । पढ्ने, पढाउने र परीक्षा लिने विषयको रुपमा खुसी पाठ्यक्रम बनेको छैन, मानविय मूल्य विद्यार्थीमा स्थापित गर्ने पाठ्यक्रमको उद्देश्य रहेको अनुसन्धान केन्द्रका संयोजक देवकोटाले बताउनुभयो ।
मध्यविन्दु नगरपालिकामा ४५ वटा सामुदायिक विद्यालय र २० वटा संस्थागत विद्यालय गरी ६५ वटा विद्यालयमा खुसी पाठ्यक्रम कार्यान्वयनमा रहेको छ । यसबाट यस पालिकाका ९ हजार २ सय बढी विद्यार्थीले मानवीय मूल्य र मान्यतालाई व्यवहारसँगत तरिकाले सिक्ने अवसर पाएका छन् । खुसीकक्षाका विषयवस्तु विद्यालयमा मात्र नभइ घरसँगपनि जोडिएका छन् । सिकाइ सहजीकरण सहज होस् भन्ने हेतुले शिक्षक र अभिभावक दुबैलाई पालिकाले अभिमुखीकरण समेत गरिरहेको खुसी पाठ्यक्रम कार्यक्रम संयोजक लक्ष्मी पाण्डेले बताउनुभयो ।
समाजमा नकरात्मक चिन्तन, असहयोग, तृष्णा, निराशा बढ्दै गइरहेको अवस्थामा मानिसलाई मानव हुनुको मूल्य सिकाउने, खुसीको लक्ष्य पहिल्याउन सिकाउने, खुसी भएर पढ्न सहज बनाउने पाठ्यक्रम शिक्षा क्षेत्रमा अभिन्न तर नयाँ प्रयोग हो । बालबालिकाको व्यवहार परिवर्तनमा सहजीकरण गर्न मद्दत मिल्ने यस पाठ्यक्रमका विषय अरुका लागि पनि अनुकरणयोग्य हुन सक्छन् ।